३ जेठ , वीरगञ्ज । ५३ लाख ८० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवाल रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी खनालले बताए ।
झोला बोकेर हिँडिरहेका जैसवाललाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनले बोकेको झोलाबाट २४ लाख नगद फेला पारेको र उनले दिएको बयानका आधारमा गुप्ताको डेरामा खानतलाशी गर्दा थप २९ लाख ८० हजार फेला परेको डीएसपी खनालले जानकारी दिए ।