२१ वैशाख, मुगु । नेपालको हिमाली जिल्ला मुगुमा दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढेसँगै भोलि (बुधबार) राति १२ बजेदेखि निषेधाज्ञा गरिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले २२ गते बुधबार राति १२ बजेदेखि लागू हुने गरि बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय पारित गरेको हो ।
विशेषगरी मुगु जिल्लामा दैनिक कोरोना संक्रमितको संख्या बढेको र छिमेकी जिल्लाहरुमा पनि निषेधाज्ञा गरिएको हुनाले मुगुमा पनि निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा अवधिभर शान्ति सुरक्षा स्वास्थ्य, विद्युत सूचना तथा सञ्चार खानेपानी, ग्यास, पेट्रोल, तरकारी, खाद्यान्न, औषधीलगायत अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको छ ।
दैनिक उपभोग्य बस्तु खाद्यान्न, तरकारी पसल, फलफुल, ग्यास पसलहरु बिहान ९ बजे देखि १२ सम्म मात्र खोल्न पाइने बैठकले निर्णय गरेको छ । त्यस्तै, एम्बुलेन्स, दमकल, शवबाहन, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुको हकमा सम्बन्धित कार्यालय प्रमुखले आलोपाले मिलाएर एक चौथाई कर्मचारी उपस्थित गराएर सन्चालन गर्ने भनिएको छ ।
अनिवार्य रुपमा मास्क सेनिटाइजर प्रयोग गरेर कारोबार सञ्चालन गर्ने गरी निर्णय गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्क्षय तथा प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले बताएका छन् ।
हाल मुगुमा १८ जना कोरोना संक्रमित रहेका छन् ।