५ जेठ, गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकीमा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । कोरोना संक्रमण भई बुधबार मृत्यु पुष्टि हुनेमा पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, स्याङ्गजाका ७ जना, नवलपुरका ५, तनहुँका र म्याग्दीका ५र५ जना र गोरखाका ३ जना छन् । स्वास्थ्य निर्देशनालयको विवरणमा भने नवलपुरमा २ जनाको मृत्यु भएको उल्लेख छ ।
योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५५ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यस्तै, बुधबार नै गण्डकीका थप ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६९७ जनामा गरिएको नमुना परीक्षणमा थप ६८८ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज पुष्टि हुनेमा कास्कीका १७६ जना, गोरखाका १२९ जना, नवलपुरका १२८ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना तनहुँका ५६ जना छन् । यस्तै, पर्वतका २२ जना, मनाङका १३ जना, मुस्ताङका १० जना, स्याङ्गजाका ९ जना र लमजुङका ७ जनालाई पनि संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ । प्रदेशमा अब ९ हजार २७१ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।