१३ भाद्र , काठमाडौ । कान्तिपुर टेलिभिजनमा हरेक शुक्रवार र शनिवार प्रसारण हुँदै आएको चर्चित रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ मा शनिवार राति भएका दुई वटा प्रस्तुति चर्चामा रहेका थिए ।
पहिलो थियो विक्की अग्रवालको प्रस्तुति । अग्रवालको पेन्टोमाइम (नबोली अभिनय गर्ने शैली) प्रस्तुतिको प्रशंसा गर्दै जज तथा चलचित्र निर्देशक प्रदीप भट्टराईले भने, ‘यो लेभलमा आएर यो रिस्क लिनु जायज छ रु मैले कति सिनेमाहरू देखेको छु, जो समयभन्दा अघि बन्दा जति पाउनुपर्ने हो त्यति अडियन्स नपाएको, जति उठाउनुपर्ने पैसा नउठाएको, आर्टलाई माया गरेर बनाएको आर्ट फिल्महरू नचलेको संसारमै उदाहरण छ । तपाईँमाथि पनि मलाई त्यस्तै डर छ ।’
तर अर्का जज तथा हास्य अभिनेता सन्तोष पन्तले भने विक्कीको प्रस्तुतिका बारेमा बेग्लै प्रतिक्रिया दिए । ‘नयाँ प्रयोगका लागि धेरै–धेरै बधाई छ । तर हरेक ठाउँको आफ्नो आफ्नो स्वाद हुन्छ । हाम्रो हाँस्ने शैली र विदेशीको हाँस्ने शैली फरक छ । विदेशीके कमेडीको टेस्ट र नेपालीको कमेडीको टेस्ट फरक छ । कमेडी च्याम्पियनमा यो फिलोसोपी त भयो तर हाँसो आएन । कोही हाँस्नु भो ?’, उनले उल्टै प्रश्न गर्नुभयो ।
उहाँको यस प्रतिक्रियाका लागि सामाजिक सञ्जालमा सन्तोष पन्तप्रति थुप्रै नकारात्मक प्रतिक्रिया आएका छन् । प्रतिक्रियाका कारण उनी विवादमा पनि तानिएका छन् ।
यस्तै कमेडी च्याम्पियनको अर्को प्रस्तुति भरतमणि पौडेलले गरेका थिए । यसअघि पनि उत्कृष्ट प्रस्तुति दिँदै आएका पौडेलले यस पटक पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका थिए । पहिरन अनि रुद्राक्षको माला तथा लामो कपालले उनलाई पारस शाह देखिनमा निकै सघाएको थियो । शाहकै शैलीमा टाउको हल्लाउने र बोल्ने गर्दा उनको प्रस्तुतिले सबै दर्शकलाई पेट मिची–मिची हँसाएको थियो ।
उनको प्रस्तुतिको सन्दर्भमा जज पन्तले भने, एकदमै राम्रो क्यारिकेचर, राम्रो सटाएर । अहिलेको यो अवस्थामा यो प्रस्तुति आफूलाई धेरै राम्रो लागेको भन्दै उनले दोस्रो पटक पनि स्ट्यान्डिङ अबिएशन दिएका थिए । यो कमेडी च्याम्पियनको इतिहासमै पहिलो पटक पनि थियो ।


