
१ असोज ,काठमाडौ । उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि ग्रामीण वस्तीहरूमा खाद्यन्नको संकट भएको हो ।

वर्षायामको कारण बजारहरूमा बिक्री गरिने खाद्यान्नको मुल्य महँगो भएको र सहुलियत दरमा ढुवानी अनुदानमा बिक्री हुने खाद्यन्न नभएपछि ग्रामीण वस्तीका सर्वसाधारण मर्कामा छन् । गत आर्थिक वर्षमा जिल्लाको लागि १८ हजार क्विन्टल चामल विनियोजन भई विक्री भइसकेको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले जनाएको छ ।

लिमिटेडका डोल्पास्थित प्रमुख कमलराज पाण्डेका अनुसार यतिखेर दुनै शाखामा दुई सय ५० क्विन्टल र जुफाल गोदाममा दुई सय नौ क्विन्टल चामलमात्र मौज्दात छ । मौज्दात रहेको चामल ग्रामीण वस्तीका आर्थिक विपन्न गरिब परिवारहरूमा मृत्यु बाढीपहिरो लगायतका आपतकालिन अवस्थामा वितरणको लागि राखिएको लिमिटेडका प्रमुख पाण्डेले जानकारी दिए ।

नेपाल सरकारले गएको वर्ष माथिल्लो डोल्पाको लागि एक हजार पाँच सय क्विन्टल, तल्लो डोल्पाका सर्मि डिपोको लागि तीन सय क्विन्टल, काइगाउँ डिपोको लागि एक हजार क्विन्टल, दुनै शाखाको लागि नौ हजार क्विन्टल र जुफाल गोदाको लागि चार हजार पाँच सय क्विन्टल गरेर १८ हजार क्विन्टल चामल विनियोजन गरेको थियो ।

कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा सरकारले ढुवानी अनुदानमा खाद्यान्न लगायत नूनसमेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको चामल बिक्री वितरण भई नून मात्रा मौज्दात रहेको र नयाँ आर्थिक वर्षको चामल जिल्लामा आपूर्ति भइनसकेकाले खाद्यान्न संकट भएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । चालु आर्थिक वर्षमा डोल्पाको लागि खाद्यान्न कति विनियोजन भयो भन्ने कुरा अहिले नै थाहा नहुने र ढुवानीको ठेक्का स्वीकृत भई जिल्लामा आपूर्ति भएर वितरण भएपछि मात्र थाहा हुने पनि लिमिटेडले जनाएको छ ।







