२७ साउन , काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुदलाई पर्यटनको रुपमा विकास गर्न सके राष्ट्रिय रुपमा आम्दानी गर्न सकिने बताएका छन् ।
राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको निर्माणाधीन सिमरा रंगशालाको निरीक्षणका क्रममा उनले नेपाललाई खेल पर्यटनको रुपमा विकास गर्न नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका खेलहरु खेलाउन सकिने बताएका हुन् ।
‘खेल पूर्वाधारलाई व्यवस्थित ढंगले निर्माण गर्न सक्यौँ भने अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु नेपालमा आउने वातावरण सिर्जना हुन्छ,’ मन्त्री गहतराजले भने । सिमरा रंगशाला राजधानीबाट नजिक, निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै जिल्लामा भएकाले सिमरा रंगशालालाई मधेस प्रदेशकै ठुलो रंगशालाको रुपमा विकास गर्न सकिने मन्त्री गहतराजले बताए ।
सिमरा रंगशालाको संरचनाहरु अत्यन्तै आकर्षक र लोभ लाग्दो भएकाले देशकै उत्कृष्ट रंगशालाको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने आश्वासनसमेत उनले दिए । ‘एकैपटक ठुलो बजेटले काम गर्न नसके पनि बहुवर्षीय योजना बनाएर काम गर्नुस्, हामी तपाईहरुलाई सहयोग गर्न तयार छौँ,’ उनले भने ।







