
१५ माघ,काठमाडौं । एकीकृत समाजवादी पार्टीका तीन जना नेतालाई मन्त्री बनाउनै पर्ने विषय फेरि सतहमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेको मन्त्रिपरिषद् पुनर्गठन गर्ने सोचमा रहेका कारण पनि उक्त प्रसंग उठेको समाजवादी स्रोतले जानकारी दिएको छ ।
एकीकृत समाजवादी स्रोतका अनुसार, सांसदहरु मेटमणि चौधरी, कल्याणी खड्का र जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने प्रसंग उठेको हो ।अन्तिम समयमा मन्त्रीमा समेटिएका किसान श्रेष्ठ र पहिलादेखि नै मन्त्रीका लागि समाजवादीमा आएका प्रेम आलेलाई ६ महिनापछि राजीनामा दिने सर्तमा मन्त्री बनाउने चर्चा सुरु भएको छ । उनीहरूको कार्यकाल १०० दिन पुगेको छ ।
समाजवादीमा मन्त्री सिफारिस गर्ने सुरुको चरणमा चौधरीको नाम मन्त्री बन्ने सूचीमा पहिलो नम्बरमै पर्दथ्यो । चौधरीको नाम अन्तिम समयमा काटिएको स्रोत बताउछ। चौधरीलाई पर्यटन मन्त्री बनाउने अन्तिम समयसम्म चर्चा थियो ।
त्यतिबेला आलेको नाम पनि मन्त्री बनाउने सूचीमा भएपनि उनलाई अर्कै मन्त्रालयको जिम्मा दिने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको तयारी थियो । चौधरीलाई अन्तिममा समेट्न नसकिएपछि पर्यटन मन्त्रीको जिम्मा आलेको भागमा परेको हो ।
आले २०७४ सालदेखि नै पर्यटन मन्त्रालयका दावी गरिरहेका थिए । त्यतिबेला अध्यक्ष केपी ओलीसँग पटकपटक छलफल गरेर पर्यटनको मन्त्रालयको दावी गरेका थिए । तर, अन्तिममा ओलीले रविन्द्र अधिकारीलाई पर्यटन मन्त्री बनाएका थिए । त्यतिबेला यती समूहले भने आफ्नो रबर स्ट्याम्प पार्वत गुरुङलाई पर्यटन मन्त्रालयका जिम्मा दिन लविङ गरेको थियो ।
अध्यक्ष माधव नेपालकै गृह जिल्ला रौतहटकी कल्याणी खड्काले पनि पहिलादेखि नै मन्त्रीको बन्ने रहर गरेकी थिइन् । तर, खड्का संसदीय समितिको सभापति समेत रहेकोले राज्यमन्त्री सरहको सुविधा पाइरहेकी छिन् । त्यसैकारण उनलाई केही दिन धैर्य गर्न सम्झाएको एकीकृत समाजवादी स्रोतको भनाई छ ।







