
२ असोज ,काठमाडौ । नेकपा माओवादी केन्द्रले पार्टी पुनर्निर्माण र रूपान्तरण गर्दै अघि बढ्ने सङ्कल्प गरेको छ ।

त्यसका लागि आफ्ना पार्टी संरचनालाई चलायमान बनाउनुका साथै जनतासँग प्रत्यक्ष जोडिने तथा कार्यशैली र व्यवहारमा फरक ल्याउने माओवादीका नेताहरू बताउने गर्छन् । तर, यसैबेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने पार्टीको भविष्यलाई लिएर गम्भीर र चिन्ताजनक अभिव्यक्तिहरू पनि दिने गरेका छन् ।

कहिले क्रान्ति त कहिले माओवादी विघटनको कुरा गर्ने प्रचण्डले किन यस्ता भावुक अभिव्यक्ति दिँदैछन् रु यस्तै प्रश्नको जवाफ खोज्न न्युज२४ग्यालेक्सीले माओवादी स्थायी समिति सदस्यसमेत रहेका नेता देवेन्द्र पौडेललाई सोधेको छ-के माओवादी साँच्चै पुनर्निर्माण र रूपान्तरण हुन लागेको हो ?
प्रस्तुत छ नेता पौडेलसँगको छोटो कुराकानी :
नेकपा माओवादी केन्द्रका गतिविधि शून्यजस्तै देखिन्छन्, खासमा अहिले माओवादी पार्टी के गर्दैछ ?
अहिले फेरि एकपटक नेपालको इतिहासमा हाम्रो पार्टीले जनताको पक्षमा हिजो गरेका जनयुद्ध, जनआन्दोलन, श्रमजीवी क्षेत्र, वर्ग, लिङ्ग र समुदायको पक्षमा गरेका प्रयास, प्रतिबद्धता र आन्दोलनलाई जगाउँदै, कार्यकर्तालाई जनतासँग सहकार्य गर्दै उनीहरूको समृद्धिका लागि जनताकै सहकार्यमार्फत मात्र सम्भव हुन्छ भनेर हामी त्यही उद्देश्यका साथ अघि बढ्ने निर्णय गर्दै त्यसअनुसारका कार्यक्रम अघि सारेका छौँ । माओवादीका गतिविधि शून्य छन् भन्ने कुरामा कुनै सत्यता छैन ।

माओवादी केन्द्रको पुनर्निर्माण र रूपान्तरण गर्ने भनिएको छ । कसरी हुन्छ पार्टी पुनर्निर्माण र रूपान्तरण रु त्यसका आधार केके देख्नुहुन्छ ?
माओवादीले नेपाली जनताको परिवर्तनका लागि जे जति मुद्दाहरू अघि सारेको थियो, अहिले पनि तिनै मुद्दाको वरिपरि मुलुक चलिरहेको छ । सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता हुँदै प्राप्त भएको गणतन्त्र माओवादीले उठाएका मुद्दा हुन् । ती केही हदसम्म कार्यान्वयन भएका छन् भने केही कार्यान्वयनको चरणमा छन् ।
त्यही कारण मुलुकमा प्रादेशिक संरचनासहित तीन तहका सरकार बनेका छन् । पछि अरू पार्टीहरू पनि आए तर मूलतः यो परिकल्पना गर्ने पार्टी माओवादी नै हो । त्यसकारण हामी यो विचार र सिद्धान्तप्रति प्रतिवद्धसमेत भएकाले फेरि एकपटक नयाँ शिराबाट स्थापित गरेर अघि बढ्न सक्छौँ, पहिलो आधार त्यही हो ।






