
४ असोज , काठमाडौ । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले भोलि (मंगलबार)हङकङको सामना गर्दैछ ।


उज्वेकिस्तानको तास्केन्तस्थित जेएआर मैदानमा समूह ‘एफ’को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि नेपाल समूह ‘एफ’ को पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको छ । आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने सम्भावना कायम राख्न नेपाल मंगलबार ‘गर या मर’ को स्थितिमा रहेको छ ।

फिफाको महिला वरीयतामा नेपाल १०१ र हङकङ ७६ स्थानमा छ । नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले यसअघि नै फिफा वरीयता एक अंक मात्रै रहेको र नेपाली टोलीले उच्च मनोबलका साथ छनोट खेल खेल्ने बताएका थिए ।
पहिलो खेलमा नेपाल अन्तिम मिनेट सम्हालिन नसक्दा फिलिपिन्सविरुद्ध २(१ गोल अन्तरले पराजित भएको थियो । खेलको सुरुवाती १० मिनेटमै विमला चौधरीको गोलमा अग्रता बनाएको नेपाल ९० र थपिएको २ मिनेटमा लगातार दुई गोल ब्यहोर्दै ऐतिहासिक जितबाट टाढा रहेको थियो ।
नेपालले सन् १९८६ बाट एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १(० गोल अन्तरले पराजित भएको थियो ।
नेपाली महिला टोलीले लगातार तीनपटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो । तीनैपटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो । जसअन्तर्गत दुईपटक थाइल्यान्ड, इन्डोनेसिया र हङकङ सम्मिलित समूहमा परेको नेपाल तेस्रोपटक भने इन्डोनेसिया र हङकङसँगै जापान सम्मिलित समूहमा परेको थियो ।

यसअघि नेपालको लिग च्याम्पियन एपीएफ क्लबले हङकङलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो । स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर मञ्जलीकुमारी योञ्जनको एक गोलसँगै नेपालले हङकङलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।
यसपटक नेपाली टोलीमा सावित्रा भने हुने छैनन् । घुँडाको चोटको शल्यक्रिया गरेकी सावित्रा कतारको अस्पेटार अस्पतालमा रिह्याबको अवस्थामा रहेकी छिन् ।हङकङविरुद्ध समेत नेपालले सावित्रा भण्डारी साम्बाको अभाव खेप्नुपर्नेछ । सावित्राबिना नेपालले विपक्षी बक्समा खासै दबाब बढाउन सकेको छैन । गत शनिबार फिलिपिन्सविरुद्ध समेत सोही अवस्था देखियो ।




