
११ असोज ,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ ।

आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ ।

आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने भनिएको राष्ट्रिय सम्मेलनको तिथि भने सारिएको छैन । तर, सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहका सम्मेलनहरूको मिति परिवर्तन गरेको हो ।

यसअघि माओवादीले असोज ३० गते पालिका स्तरीय सम्मेलनहरू गर्ने भनेको थियो । तर, असोज २९ गते दसैंको टीका परेकाले माओवादीले कार्यतालिका परिवर्तन गरेको हो ।
त्यस्तै कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरुको सम्मेलन गर्ने भन्ने कुरा भएको छ भने राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।





