
१३ असोज , काठमाडौ । संखुवासभाको मादी नगरपालिका-१ मा एकै परिवारका ६ जना मारिएको एक सातापछि प्रहरीले लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गर्यो ।

मानसिक समस्याको औषधि सेवन गरिरहेको दाबीसहित प्रहरीले मृतक तेजबहादुरले हेप्ने गरेका कारण घटना भएको बतायो । एक अनुसन्धान अधिकृतका अनुसार हत्या भएको भोलिपल्ट मृतकका सामानहरु रुजु गर्ने क्रममा मृतक रञ्जनाको दुईवटा मोबाइल भेटिएको थिएन ।

‘घटनाको तीन दिनपछि सुर्के थैलीमा राखिएको सादा मोबाइल घर बाहिर झुण्डाइएको अवस्थामा भेटियो,’ एक अधिकृत भन्छन्, ‘तर ओप्पो ब्राण्डको अर्को फोन भेटिइरहेको थिएन ।’ अन्य पाटोबाट अनुसन्धान भइरहेका बेला मोबाइलको विषय ओझेलमै थियो ।

केही दिनपछि लोकबहादुरले कसूर स्वीकार्दा मोबाइल खोजीमा प्रहरीले त्यति ध्यान पनि दिएन । उनलाई सार्वजनिक गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश प्रहरी कार्यालय, विराटनगरको टोली फर्कियो । त्यसपछि बल्ल इलाका प्रहरी कार्यालय, खाँदबारीले मोबाइलको खोजी गर्न थाल्यो ।

सीआईबीले पनि मोबाइलबारे प्राविधिक छानबिन थाल्यो । अनुसन्धान अधिकृतहरुका अनुसार सामूहिक हत्या भएकै दिन २१ भदौको दिन बिहान ५ः४४ बजे मोबाइल स्वीच अफ भएको प्राविधिक विश्लेषणबाट देखियो । ‘हत्या पनि त्यही समय आसपास भएको फरेन्सिक जाँचले देखाएको थियो,’ एक अधिकृत भन्छन्, ‘मोबाइल अफ हुनु र हत्याको समय मिल्नु संयोग मात्र मान्न सकिन्नथ्यो ।’

उनको भनाइमा मोबाइल बन्द हुनुमा कि चार्ज सकिएको हुनुपर्थ्यो कि अर्कोले लगेर अफ गरिदिएको हुनुपर्थ्यो । हिरासतमा रहेका लोकबहादुरले मोबाइलबारे थाहा नभएको बताइरहेका थिए । यस्तो अवस्थामा अन्य व्यक्ति पनि घटनामा जोडिनसक्ने अनुमान अधिकृतहरुको थियो ।





