Comments Add Comment

Advertisment

SKIP THIS

अस्पतालको शय्या बढ्यो : दरबन्दी बढेन किन ?

१५ असोज ,काठमाडौ । पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले आफू अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएको तीन वर्ष बितिसक्दा २०औँ पटक गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री तथा सरोकारवाला निकायलाई भेटेर अस्पतालमा जनशक्ति व्यवस्थापन गर्नका लागि आग्रह गरिसके । उनको आग्रह व्यवस्थापन समितिको कार्यकाल सकिँदासम्मसमेत सुनुवाइ भएन ।

प्रदेशका ११ अस्पतालका व्यवस्थापन समितिको संयोजनसमेत गरिरहेका अध्यक्ष पहाडीले अस्पतालको भौतिक पूर्वाधार तथा उपकरणमा प्रदेशले सहयोग गरे पनि दरबन्दी मिलान हुन नसक्दा समस्या भएको बताए ।

‘अस्पताललाई शय्या वृद्धि घोषणा नै गरेको दुई बर्ष बित्यो, भौतिक पूर्वाधारका हिसाबले समेत शय्या स्तरवृद्धिमा सेवा सञ्चालन गर्न अस्पताल सक्षम नै छन्, केही उपकरण र केही भौतिक पूर्वाधारसमेत बनिसके’, गण्डकी प्रदेशका अस्पतालका व्यवस्थापन समिति मिलेर गठन गरेको अस्पताल व्यवस्थापन समन्वय समितिका अध्यक्षसमेत रहेका पहाडीले भने, ‘पूर्वाधार र उपकरणले मात्रै नपुग्दोरहेछ, जनशक्ति अभावले ११ जिल्लाकै अस्पताललाई आजित बनाएको छ, गण्डकी प्रदेशलाई २०औँपटक भन्दासमेत अस्पतालको अध्ययन गरी दरबन्दी थप (ओएनएम) गर्ने कुरा सुनुवाइ भएन ।’

एघार जिल्लाका अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले अस्पतालको शय्या वृद्धि गरे पनि स्वास्थ्यकर्मीको क्षमता नबढाउँदा समस्या भएको भन्दै प्रदेश सरकारलाई गुनासोसमेत गर्दै आएका छन् । धवलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले अस्पतालमा २६ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले तीन जनामात्रै दरबन्दीअनुसारका चिकित्सक भएको जानकारी दिए ।

अस्पतालमा अहिले करारका १२ चिकित्सक कार्यरत छन् । कोरोना महामारीमा २७ भन्दा बढी चिकित्सकले सेवा दिए पनि दरबन्दीअनुसारका चिकित्सक नहुँदा केहीको करार सकिएको र केहीको सरुवा हुँदा अहिले अस्पताल समस्यामा परेको उनले बताए । अस्पताललाई प्रदेश सरकारले २०० शय्याको अस्पताल बनाउने घोषण गरेर केही उपकरण तथा सामग्रीसमेत पठाइसके पनि ५० शय्याका लागि कायम गरिएका दरबन्दीसमेत खाली हुँदा अस्पताल सञ्चालनमा समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए।

प्रदेश सरकारले दुई वर्षअघि नै ११ जिल्ला मध्ये ५० शय्या रहेको सो अस्पताललाई २०० शय्या र १५ शय्याका १० जिल्लाका अस्पतालमध्ये मनाङ तथा मुस्ताङलाई ३० शय्या र अन्य आठ जिल्लाका अस्पताललाई ५० शय्या बनाउने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै