Comments Add Comment

Advertisment

SKIP THIS

पशुपतिनाथको जलहरीमा ११ किलो सुन गडबडी : मुद्दाको तयारी

२४ असोज , काठमाडौ । पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ ।

८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा जलहरी राख्नुअघि गत फागुन ११ मा तयार गरिएको मुचुल्का । सुनको मात्रा लेखिएको अंक(रातो घेरामा) नै केरमेट गरिएको छ ।

अहिलेसम्मको अनुसन्धानअनुसार कम्तीमा ११ किलो सुन गायब पारिएको छ । त्यस्तै जलहरीमा राखेको सुनमा अन्य धातु मिसावट भएको विषयमा पनि अख्तियारले प्राविधिक छानबिन अघि बढाएको छ ।

गत माघ १२ मा पशुपति दर्शनमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिर्लिङ्गको जलहरी सुनको बनाउन निर्देशन दिँदै आवश्यक बजेट सरकारले उपलब्ध गराउने वचन दिएका थिए । तर, इतिहासदेखि जलहरी चाँदीको रहेकाले सुनको राख्नु हुँदैन भन्दै संस्कृतिविद् र अभियन्ताले विरोध गरेका थिए ।

यो विषयमा वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले १० फागुनमा सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । १२ फागुनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अन्तरिम आदेश दियो, तर त्यही बिहान अदालत नखुल्दै राष्ट्रपतिलाई पशुपति लगेर जलहरी उद्घाटन गराइसकिएको थियो । पशुपतिमा सुन चढाएर राजनीतिक फाइदा लिन सुरु भएको यो खेलमा आर्थिक स्वार्थहरू पनि जोडिएपछि यसले बेथितिको रूप लिएको हो । जलहरीलाई खँदिलो र बलियो बनाउन २४ क्यारेटको सट्टा २२ क्यारेट सुन प्रयोग गर्ने निर्णय भएको थियो ।

पशुपतिको जलहरी परीक्षण गर्दै अख्तियार

२२ क्यारेट सुन पनि सिधै किन्न पाइन्छ, तर कोषका पदाधिकारीहरूले २४ क्यारेटको सुन किन्ने र त्यसलाई पगालेर तामा र चाँदी मिसाई २२ क्यारेटको सुन बनाउने नीति बनाएका थिए । ‘तामा र चाँदी धेरै मिसाएर सुन दबाउने उद्देश्यले यस्तो भएको हो, हराएको सुन मात्र होइन, भएको सुनमा पनि अन्य धातु कति छ भन्ने मूल प्रश्न हो,’ कोषकै एक सदस्यको भनाइ छ । जलहरी निर्माणमा संलग्न नभएका कोषका सदस्यहरूले आर्थिक हिसाबकिताब मागेपछि अनियमितताका तथ्य एकपछि अर्को खुल्दै गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै