
१५ कात्तिक , काठमाडौ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सोमबार ४८ वर्ष पूरा भएकी छन् । १ नोभेम्बर १९७३ मा कर्नाटकमा जन्मिएकी ऐश्वर्या पछिल्लो समय फिल्म अभिनयमा त्यति सक्रिय छैनन् ।

मोडलिङबाट करिअर सुरु गरेकी उनलाई त्यतिबेलादेखि नै फिल्म खेल्ने अफर आएको हो । सन् १९९४ मा मिस वर्ल्डको शीर्ष उपाधि जितेपछि त उनलाई फिल्मको ओइरो नै लाग्न थाल्यो । थुप्रै टिभी एडमा अभिनय गरेकी उनले सन् १९९७ मा मणिरत्नम्को तमिल फिल्म ‘इरुवर’ बाट डेब्यु गरिन् । सोही वर्ष उनले पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ मा अभिनय गरिन् । त्यसपछि धेरै बर्ष उनले पछाडि फर्केर हेर्नुपरेन । उनले थुप्रै हिट फिल्म दिइन् । बिहेपछि भने उनको अभिनय यात्रा अलि धिमा हुन गएको हो ।

ऐश्वर्याले केही यस्ता फिल्म अस्वीकार गरेकी छिन्, जुन सुपरहिट भएका थिए । बलिउडका साथै हलिउड फिल्ममा समेत अभिनय गरेकी ऐश्वर्या एक समय निर्माता, निर्देशकको पहिलो रोजाइमा पर्थिन् । सुरुमा उनलाई अफर गरिएको तर उनले ‘रिजेक्ट’ गरेका कतिपय फिल्म सुपरहिट भएका छन् । ऐश्वर्याले छोडेका, तर सुपरहिट भएका केही फिल्म यस्ता छन्
राजा हिन्दुस्तानी
आमिर खान र करिश्मा कपुर अभिनित ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर फिल्म हो । धर्मेश दर्शन निर्देशित यो फिल्म मिस वर्ल्ड हुनुअघि नै ऐश्वर्यालाई अफर गरिएको थियो । तर उनले ‘रिजेक्ट’ गरिन् । त्यसपछि मात्रै यो फिल्ममा करिश्मालाई लिइएको थियो । आमिर र करिश्माको करिअरमा यो फिल्मले उथलपुथल नै ल्याइदिएको थियो । केही वर्षअघि फेमिनालाई दिएको एउटा अन्तर्वार्तामा ऐश्वर्याले आफू मोडलिङमा सक्रिय हुँदा नै निर्देशक धर्मेशले ‘राजा हिन्दुस्तानी’ बाट अफर गरेको, तर आफूले ‘रिजेक्ट’ गरेको बताएकी थिइन् । उनले आफूलाई निर्देशक मणिरत्नमका फिल्म मन पर्ने भएकाले उनकै निर्देशनको ‘इरुवर’ बाट डेब्यु गरेको खुलासा गरेकी थिइन् । ऐश्वर्याको डेब्यु ‘इरुवर’ ले औसत व्यापार गरेको थियो भने उनले छाडेको ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर भएको थियो । यो कुरामा चाहिँ आफूलाई पछुतो लागेको उनले बताउने गरेकी छन् ।







