
२८ कात्तिक , काठमाडौ । नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।

घुस खाएको पैसा बाँडेर प्रधानन्यायाधीशले भिजिलान्ते र भाडाका टट्टु प्रयोग गर्नुभयो,’ उनले भने, ‘कमिशनको पैसालाई अहिले प्रतिकारका नाममा बाँडिएको छ ।’
उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले पनि कानुन व्यवसायीहरुले गर्दै आएको विरोध प्रदर्शनको प्रतिकारका लागि ठुलो रकम खर्च भएको आरोप लगाएका छन् ।
उनले प्रतिव्यक्ति दैनिक दुई हजार रुपैयाँ दिएर बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताए । उनले भ्रष्टाचारको रकम प्रयोग गरेर यसरी प्रतिकार समूह खडा गर्न खोजिएको आरोपसमेत लगाए ।






