
७ मंसिर , काठमाडौ । नेपाल प्रहरीको सरुवा–बढुवाको सूची प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको निर्देशनमा स्वकीय सचिव प्रकाश देउवाले बनाउने गरेको पाइएको छ।

त्यही सूची बालुवाटारबाट गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालय पुग्ने गरेको छ। तिनै सूचीअनुसार सरुवा–बढुवा समेत भएको छ। प्रधानमन्त्रीपत्नी आरजुको आशिवार्दले विवादित प्रहरीहरुले अवसर पाएका छन्।

प्रहरी सरुवा–बढुवाको सूची बालुवाटारको ओपेरा रेष्टुरेन्टमा तयार हुन्छ। सो रेष्टुरेन्टका सञ्चालक समेत रहेका प्रकाश देउवा र अर्का सञ्चालक हेमन्त धामीको डिजाइनमा प्रहरी सरुवा–बढुवाको सूची तयार हुने गरेको छ।
सो समूहको चलखेलले यतीबेला गृहमन्त्री भन्दा सरुवा–बढुवामा बालुवाटार हाबी भइरहेको प्रष्ट छ। प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेश थापा क्षेत्री कमजोर हुँदा प्रहरीको सरुवा–बढुवा बिचौलियाको हातमा पुगेको हो।
त्यतिमात्र होइन प्रधानमन्त्री निकट गिरोहले बालुवाटारमा प्रहरीको सरुवा–बढुवाको सूची बनाउँछ भने गृहमन्त्रीनिकट गिरोहले गैरीधाराको एक रेष्टुराँमा बसेर सरुवा–बढुवाको सूची बनाउने गरेको छ।
तर, बालुवाटारको पूरै हस्तक्षेप हुँदा गृहमन्त्री निटक रहेका गिरोहरुको केही लाग्दैन्। बालुवाटारको हस्तक्षेपले गृहमन्त्री बालकृष्ण खाँण समेत रुष्ट बनेका छन्।
आफुले गरेको काठमाडौंको प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० अशोक सिंहको सरुवा बालुवाटारले रोकेको घटनाले पनि बालुवाटार र गृहबीच विवाद बढेको छ। आरजुले प्रहरी चलाएको भन्दै गृहमन्त्री खाण असन्तुष्ट बनेका हुन्।
सिंहको ठाउँमा एसएसपी सुदीप गिरीको काज सरुवा भएको थियो। गिरीलाई काठमाडौं प्रहरी प्रमुख बनाउन गृहमन्त्रीपत्नी मन्जु खाँणको हात रहेको छ। मन्जुको आशिर्वादले गिरी काठमाडौं आएका हुन्।
मन्जुले त गिरी प्रहरी उपरीक्षक ९एसपी० बाट एसएसपीमा बढुवा हुँदा सामाजिक सञ्जाल फेसुबकमार्फत बधाई नै दिएकी छन्। ‘भाई एसएसपी बढुवा भएकोमा हार्दिक बधाई छ सफलताको शुभकामना। हिजो जस्तो लाग्छ सँगै खेलेको ठूलो भइएछ, जिम्मेवारी बढ्दैछ,’ मन्जुले फेसबुकमा लेखेकी छन्।
यसरी आफू निकट तथा चिनजानका प्रहरी अधिकृतहरुलाई आरजु र मन्जुले काखी च्यापेका छन्। विगतलाई नहेरी विवादित व्यक्तिलाई उनीहरुले इन्चार्ज पठाउने गरेका छन्।




