
९ मंसिर, काठमाडौ । भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरुप पाँचवटा वर्कसप ट्रक उपलब्ध गराएको छ ।

२०७५ साल मंसिर २८ गते काठमाडौँमा सम्पन्न भएको नेपाल-भारत द्विपक्षीय परामर्श समूह को १३ औं बैठकमा सहमती भए बमोजिम आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सो ट्रक हस्तान्तरण गरिएको हो ।

भारतका सैनिक सहचारी कर्नेल अमित शर्माले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई ट्रक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको अप्रेशनल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको जानकारी दिएको छ ।








