१२ मंसिर काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अबको सात वर्ष भित्र रुकुम जिल्लालाई गरिबी तथा बेरोजगारमुक्त जिल्ला बनाउने उद्घोष गरेका छन् ।

शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरू उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताए ।

‘रुकुम जिल्ला पहिले जनयुद्धको आधार इलाका थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ ।’ संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउँछौँ । सोही योजना अनुसार अघि बढ्न म सबैमा आग्रह गर्दछु’ मन्त्री शर्माले भने ।
सो अवसरमा उनले युवाहरूलाई विदेश जान छोडेर जिल्लाभित्रै उत्पादन र रोजगारीको अभियानमा जोडिन समेत आग्रह गरे । जिल्लामा चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन उनको आग्रह थियो ।






