१३ मंसिर काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनको आयात बढेपछि चाँजपासमा कडाई गरिएको छ ।

विदेशबाट नेपाल फर्किने नेपालीले अवैधरुपमा सुन ल्याउनेक्रम बढेपछि सोमबारदेखि जाँचपासमा कडाई गरिएको हो । भन्सार विभागले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कर्मचारी नै थपेर जाँचपासमा कडाई गर्न थालेको छ ।

‘विदेशबाट फर्कने नेपालीले सुन ल्याउने क्रम बढेपछि हामीले जाँच पासमा कडाई गरेका हौं । अहिले विभागले जाँचपास गर्ने कर्मचारीको संख्या बढाएको छ । विभागका निर्देशक पुन्यबिक्रम खड्काले भने । उनले कानूनी व्यवस्थाको छिद्रतालाई औंल्याएर सुन ल्याउने क्रम बढेपछि जाँचपास कडाई गरेको जानकारी दिए ।
उनले भने, ‘दुवै घुम्न जाने र नेपाल आउँदा सुन बोकेर आउनेक्रम बढेपछि विमानस्थल भन्सारमा कडाई गरिएको हो । घुम्न जाँदा कति पैसा लगेको थियो सुन किन्ने पैसा उ आफैसँग थियो वा कहाँबाट ल्यायो भन्ने लगायतका विवरण खोजिन्छ ।
सुनको अवैध आयात भएको भन्ने शंका लागेपछि विभागले त्यससम्बन्धी बुझ्दा एउटै प्लेनमा चढेका यात्रुले किलोका किलो सुन ल्याएको पाइएपछि शंका उत्पन्न भएको खड्काको भनाई छ ।
विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले कानूनी छिद्रता पहिल्याएर सुन आयात गर्नेक्रम बढेपछि कर्मचारीको संख्या बढाएरै जाँचपास गर्न थालिएको बताए । उनले भने, ‘पहिलाकोभन्दा कानूनी व्यवस्था परिवर्तन भएको छ । धेरैलाई नयाँ कानुनबारे जानकारी छैन । सोहीकारण, अहिले विमानस्थलमा विवाद उत्पन्न भइरहेको छ ।’
अहिलेको कानुनअनुसार ५० ग्राम काँचो सुनको भन्सार ४७ हजार ५०० रुपैयाँ तिर्नुपर्छ । यो व्यवस्थाअनुसार विमानस्थल भन्सारले भन्सार महसुल उठाउन खोज्दा विदेशबाट फर्कने नेपालीले त्यसबारे जानकारी नभएको र भन्सार नतिर्ने बताइरहेका छन् । यही कारण, हाल विमानस्थलमा नेपाल फर्कने यात्रु र भन्सार कर्मचारीबीच विवाद भइरहेको छ ।








