
१४ मंसिर , काठमाडौ । एमाले महाधिवेशनमा एकतिहाइ महिला सहभागिता हुनुपर्ने माग गरिरहेका महिला नेताहरुमा उत्साह घटेको छ ।

सहमतिका नाममा पदाधिकारीमा महिला सहभागिता अपेक्षित नभएको गुनासो आइरहेकै बेला नेता बिन्दा पाण्डेसँग गरिएको कुराकानी : पदाधिकारीमा एकतिहाइ महिलाको दाबी थियो, त्यो त भएन नि ?

निर्वाचनमा जाने स्थितिमा एकतिहाइ उम्मेदवारी दिने तयारी थियो तर जान पाएनौं । हलले सूची तयार गर्ने सर्वाधिकार अध्यक्षलाई दियो । उहाँले जोजो सहज हुन्छन्, उनीहरूलाई टिममा राख्नुभयो । त्यसको विपक्षमा जानुको खास अर्थ थिएन । हलमा प्रस्तुत भएको सूचीमा अरूले फाराम भर्ने भनेको असहमति देखाउन हो । हामीले जुन सहभागिताको कुरा गरेका थियौं, त्यो असहमति देखाउन होइन ।
त्यो पदमा रहेर काम गर्न सक्छौं भनेर दाबी गरेका हौं । सबै क्षेत्रमा काम गर्ने महिलामा एकता गरौं भनेका थियौं, त्यो भएन । त्यो कमजोर पक्ष पनि रह्यो । महाधिवेशन स्थलमा आइसकेपछि जुन दाबी गरेका थियौं, अधिकांश प्रतिनिधिले ठीक गर्नुभयो भनेका थिए । निर्वाचन भएको भए हामी सफल हुन्थ्यौं । कसरी ?
तीन साताअघि महिला सहभागिताको कुरा के छ भनेर शीर्ष नेतालाई सोधेका थियौं । क्लस्टरमा ७३ जना थियो, २ जना पुगेन । निर्वाचन आयोगका साथीहरूले ७५ पुर्याउनुपर्छ भन्नुभयो । त्यसबेला एक जना पदाधिकारीमा आउनुहुन्छ भन्नुभएको थियो । हामीले दाबी गर्नुपर्छ, काम गर्न सक्छौं भनेर पार्टीले थाहा पाउनुपर्छ । महाधिवेशनबाट जिम्मेवारी लिएर काम गर्नुपर्छ भनेर हामीले दाबी गर्यौं । त्यो कुरा पार्टीभित्र र बाहिर सन्देश थियो ।
अध्यक्ष केपी शर्मा ओलीले हलमा सूची प्रस्तुत गर्दा किन विरोध गर्नु भएन ?
मैले जुन पद ९उपमहासचिव० दाबी गरेको थिएँ, निर्वाचन गरे त्यसमा प्रतिस्पर्धा गरेर राम्रै परिणाम निकाल्छु भन्नेमा म ढुक्कै थिएँ । हामीले सूची बनाउँदा आउँछ भन्ने अपेक्षा थिएन । निर्वाचन भएको भए पाँच जनाले उम्मेदवार दिने तयारी गरेका थियौं, पाँचै जना प्रतिस्पर्धामा जान्छौं भन्नेमा हामीलाई विश्वास थियो ।





