१४ मंसिर काठमाडौ । १४ महिनाअघि जयनगर–कुर्था (३४.९किलोमिटर)खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो ।

सरकारले आवश्यक तयारीबिनै ८४ करोड रुपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो ।रेल ल्याएको १४ महिना बित्यो तर नेपाल रेल्वे कम्पनीले अहिलेसम्म न कर्मचारी व्यवस्थापन गर्न सकेको छ न त रेल सञ्चालनसम्बन्धी कानुन नै तयार भएको छ ।

रेल चलाउने बजेट समेत छैन । रेललाई त्रिपालले छोपेर राखिएको छ । त्रिपालको घुम्टो कहिले उघ्रिन्छ,थाहा छैन । सरकार र रेल्वे कम्पनीको चरम लापरबाहीले करोडौं मूल्यको रेल सञ्चालनमा नआउँदै बिग्रिने हो कि भन्ने आशंका उब्जिएको छ ।
नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक गुरु भट्टराई अहिलेको सरकारले जयनगर–कुर्था रेल सञ्चालन नै गर्न नचाहेको दाबी गर्छन् ।
‘सत्तारूढ दलकै शीर्ष नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले मजाक गर्न रेल ल्याएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्,’ उनले भने,‘यसबाट अहिलेको सरकार रेल चलाउनेभन्दा कसरी ढिलासुस्ती गर्न सकिन्छ भन्नेतर्फ उद्यत छ भन्ने देखिन्छ ।’
जनकपुरमा रहेका दुई सेट रेलको आठ महिनादेखि प्राविधिक जाँचसमेत हुन सकेको छैन । ‘रेलको नियमित प्राविधिक जाँच गर्नुपर्छ । तर आठ महिनादेखि त्यो भएको छैन’, पूर्व महाप्रबन्धक भट्टराईले भने, ‘सम्पूर्ण प्राविधिक जाँच नगरेसम्म रेल चलाउन सकिँदैन ।’ भारतीय अनुदानमा निर्माण भएको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तरदेशीय रेलमार्ग गत कात्तिक ५ गते नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ ।



