१४ मंसिर काठमाडौ । साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् ।

निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे ।

समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीको खेलजस्तै रह्यो । पाँच खेलमा हार जित हुँदा दुई खेल बराबरीमा सकिएको थियो । यस चरणमा भने कुनै पनि टोलीले ठुलो अन्तरको जित निकाल्न सकेनन् । संकटा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा तीन गोल हुनु नै सबैभन्दा बढी गोल रह्यो ।
पहिलो चरणमा १६ गोल निस्कदा दोस्रो चरणमा भने जम्मा सात गोल भएको छ । पहिलो चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टारलाई १–० ले स्तब्ध बनायो । अघिल्लो खेलमा च्यासलविरुद्ध ३–० को जित निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसँग भने निरीह रह्यो ।
दोस्रो खेलमा संकटा क्लब एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जित निकाल्यो । फ्रेण्ड्सको यो पहिलो हार हो । यता, संकटाको भने पहिलो जित हो ।
दोस्रो चरणको दोस्रो दिनको खेलमा च्यासलले विभागीय प्रतिद्वन्द्धी एपीएफ फुटबल क्लबलाई १–० अन्तरले पराजित गर्यो । त्यसै दिन भएको दोस्रो खेलमा विदेशी खेलाडी आफिज ओलावालेको निर्णायक गोलमा मनाङ मर्सस्याङ्दी क्लबले आफ्नो लगातार दोस्रो जितलाई निरन्तरता दियो ।
तेस्रो दिन भएको एक मात्रै खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले पहिलो जित निकाल्यो । वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा पुलिसले अपराजित यात्रा कायम राख्यो ।
दोस्रो चरणका नतिजा
१। सातदोबाटो युथ क्लब १–० थ्रीस्टार क्लब
२। संकटा क्लब २–१ फ्रेण्ड्स क्लब
३। च्यासल युथ क्लब १–० एपीएफ फुटबल क्लब
४। हिमालयन शेर्पा क्लब ०–१ मनाङ मस्र्याङ्दी क्लब
५। जावलाखेल युथ क्लब ०–१ नेपाल पुलिस क्लब
६। ब्रिगेड ब्वाइज क्लब ०–० न्युरोड टिम एनआरटी
७। त्रिभुवन आर्मी फुटबल क्लब ०–० मछिन्द्र फुटबल क्लब




