Comments Add Comment

Advertisment

SKIP THIS

इलामकै पहिलो आँखा अस्पताल सञ्चालनमा

७ पुष काठमाडौ । इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।

इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा सुरु भएको हो । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो ।

सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ । इलाममा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ ।

अस्पताल निर्माण सुरु भएको आठ महिनाको अवधिमा सेवा सुरु भएको हो । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालू आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ ।

विनियोजित रकममध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष विद्या सापकोटाले जानकारी दिइन् ।

नगरपालिकाले सिहबाहिनी खोल्सीलाई व्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालका लागि भवन निर्माण गरेको छ । सामुदायिक आँखा अस्पतालका लागि हाल ६ कोठा भएको एकतले भवन निर्माण गरिएको छ । आँखा अस्पतालको लागि आवश्यक भवन बनाउनसमेत जग्गाको ब्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

‘रत्न वान्तवाको समाधिस्थलभन्दा माथि र निर्माणाधिन जनकदेव चोकभन्दा मुनिको जग्गा यो आँखा अस्पतालको लागि छुट्याएका छौ’, नगर प्रमुख बस्नेतले भने, ‘अस्पतालाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्न यो जग्गा पर्याप्त नै हुन्छ ।’ प्रमुख बस्नेतले नगरपालिकाले छुट्याएकोमध्येबाट बचेको रकमसमेत आँखा अस्पतालको भौतिक र गुणस्तर वृद्धिका लागि खर्चिने जानकारी दिए ।

नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र ब्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको छ । कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालन समिति गठन हुने व्यवस्था गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment