
२६ जेठ, काठमाडौ । झापामा आजदेखि अक्सिजन बैंक सञ्चालनमा आएको छ । ‘एकका लागि एक’ अभियान झापाले सञ्चालन गरेको अक्सिजन बैंकको बुधबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

देशका अधिकांश ठुला तथा साना अस्पतालहरुमा अक्सिजन अभावमा बिरामीको मृत्यु हुन थाले पछि अभियानले अक्सिजन बैंक स्थापनाका लागि सहयोग आह्वान गरेको थियो । छोटो समयमा नै अभियानले जनस्तरबाट ८ सय ९० सिलिन्डर बापतको रकम संकलन गरेको थियो । उद्घाटनकै दिन झापाली अन्तर्राष्ट्रिय समाजले १५ लाख र झापा जिल्ला सहकारी संघले ५ लाख उपलब्ध गराएको अभियानका संयोजक महेन्द्र गिरीले बताए ।

तीन सय सिलिण्डरबाट बैंकको शुरुवात गरिएको र चाडैं दुई सय सिलिण्डर आइपुग्ने गिरीले जानकारी दिए । तत्काल ५ सय सिलिन्डरले अक्सिजन आपूर्तिमा कमि नहुने भए बाँकी रकम कोरोना नियन्त्रणका अन्य कार्यहरुमा खर्च गरिने बताउँदै गिरीले कोरोनाको महामारी यथावत रहे १ हजार १ सय सिलिण्डर खरिद गर्ने बताए ।

बैंकमा रहेका सिलिण्डर आठ सय रुपैयाँ रिफिल शुल्क लिएर दिइने गिरीले जानकारी दिए । घरमै रहेर उपचार गर्नुपर्ने दीर्घ रोगी, होम आइसोलेसनमा बसेका ब्यक्तिहरुलाई बैंकले प्राथमिकता दिने गिरीको भनाई छ । अस्पतालहरुमा अक्सिजन अभाव भए प्रमुख जिल्ला अधिकारीको निर्देशनमा त्यस्ता अस्पताल तथा पालिकाहरुले संचालन गरेका आइसोलेसन सेन्टरहरुमा सिलिन्डर दिइने गिरीले बताए ।

बैंक साहारा नेपालको चारपाने स्थित कार्यालयमा रहेको छ ।





