
२६ मंसिर,काठमाडौ । बलात्कार प्रयासको सिकार भएकी एक महिला दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर पुगेकी छन् ।
गत मंसिर ९ मा पचरौता नगरपालिकाभित्रै ३२ वर्षीय कार्यालय सहायक सञ्जय पासवानले ती महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप छ । प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाए पनि उजुरी दर्ता गरेको छैन ।
‘घटना भएको दुई साता भइसक्दासमेत प्रहरीले उजुरी दर्ता गरेन, छलफलका लागि ठाडो उजुरीमात्र लिएको छ,’ पीडित महिलाले भनिन्, ‘न नगर प्रमुखले चासो दिएका छन् न त प्रहरीले । त्यसैले न्यायका लागि मानवअधिकार आयोगमा निवेदन दिएकी छु ।’ घटना सामसुम पार्न जनप्रतिनिधिबाटै आर्थिक लेनदेनको प्रस्ताव आइरहेको पीडित महिलाले बताइन् । ‘घटनालाई सामसुम गर्न जनप्रतिनिधिले बिचौलियाका रूपमा आर्थिक लेनदेन गरी टुंगो लगाउन दबाब दिइरहेका छन्,’ उनले भनिन्, ‘मलाई न्याय चाहिएको छ ।’
नगर प्रमुख रमेश यादवले घटना दबाउन खोजेको उनको गुनासो छ । घटनायता यादवले दुई दिन छलफलका लागि बोलाए पनि आफैं नआएर आफ्ना खास व्यक्तिलाई परिचालन गरेको ती महिलाको भनाइ छ । नगर प्रमुख यादव भने सम्पर्कमा आउन चाहेनन् । जिल्लाका प्रहरी उपरीक्षक दीपेन्द्रबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको दाबी गरे । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’
राष्ट्रिय मानवअधिकार आयोग जनकपुर प्रादेशिक कार्यालय प्रमुख वीरबहादुर बुढामगरले उजुरी दर्ता भएको र प्रहरीबाट लिखित जवाफ बुझेर घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवले महिला कर्मचारीबाट मौखिक जानकारी आएपछि आरोपित पासवानलाई आफूले हप्काएको जनाए ।
‘अरू समाधान हामीले गर्ने होइन, प्रहरीमा गएकाले उतैबाट अनुसन्धान होला,’ उनले भने । गत कात्तिक ९ मा पचरौता–१ स्थित पिपरपाती माविका विद्यार्थीले विद्यालयमा शिक्षक पदपूर्ति, कम्प्युटर प्रयोगशाला सञ्चालनको माग गर्दै कार्यालय तोडफोड गरेयता पालिका कार्यालय बन्द गरेर अन्यत्रैबाट काम भइरहेको छ ।







