२८ मंसिर काठमाडौ । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ ।
डेढ महिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिवेदन अघि बढेको रेल विभागले जनाएको छ ।सङ्घीय राजधानी काठमाडौँलाई भारतको रक्सौलसँग जोड्ने सो रेलमार्गका अध्ययनमा भारत सरकारको नै लगानी रहेको छ ।
अक्टोबर महिनामा सम्झौता भएपछि नै भारतीय पक्ष आएर अध्ययनमा लागेको विभागका महानिर्देशक दीपकुमार भट्टराइले बताए । अहिले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उनले भने, “उनीहरुले त्यो समयभन्दा चाँडो सक्छौँ भनिरहेका छन् ।”
भारतीय पक्षले सन् २०१८ मा प्रारम्भिक ९प्रिलिमनरी इञ्जिनियरिङ एण्ड ट्राफिक सर्वे० अध्ययन सकाएको महानिर्देशक भट्टराइले बताए । पहिलो चरणको काम भए पनि अझै महत्वपूर्ण काम बाँकी रहेको छ । अहिलेको विस्तृत अध्ययनमा ‘फाइनल लोकेसन सर्वेक्षण’ हुने बताइएको छ ।
सो रेलमार्गको लम्बाइ झण्डै १३६ किमी हुने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । रेलमार्ग निर्माणमा कति लगानी लाग्ने भनी एकिन नभएको महानिर्देशक भट्टराइले बताए । विस्तृत अध्ययन हुँदा नै पहिले त्यसमा लाग्ने लगानी एकिन हुने र त्यसकै आधारमा कहाँबाट व्यवस्थापन गर्ने भन्ने छलफल हुने उनले बताए ।
लगानीका विषयमा कसले गर्ने र कति र कसरी गर्ने भन्ने स्पष्ट भइसकेको छैन । लगानी एकिन आएपछि त्यसकै आधारमा भारत सरकारलाई भन्ने कि अरु विकल्पमा जाने भनी टुङ्गो लाग्नेछ ।
भारत सरकारले निर्माण गरिरहेका दुई देश जोड्ने अरु रेलमार्ग पनि ब्रोड गेजमा निर्माण भएको थियो । दुई देश जोड्ने सो रेलमार्ग निर्माण भएर रेल सञ्चालनमा आएपछि भारतबाट आयात हुने सामान सीमासम्म ल्याउन र त्यहाँबाट सङ्घीय राजधानीसम्म लाग्ने लागत कम हुने अपेक्षा गरिएको छ ।
भारतबाट आयात हुने सामानको ठूलो हिस्सा वीरगञ्जबाट आउने र त्यो सामानमध्ये काठमाडौँमा आइपुग्ने धेरै भएकाले पनि लागत कम हुनेछ । आयातका लागि कम लागत हुँदा त्यसले सामानको समेत मूल्य पनि घट्न जाने अपेक्षा गरिएको छ ।



