२ पुष काठमाडौै । मोरङको मिक्लाजुङस्थित सडकमा गुडिरहेका तीनवटा टिपरलाई बाटो छेकेर बिहीबार साँझ तोडफोड गरिएको छ ।
निर्माण सामग्री ओसारपसारमा प्रयोग गरिँदै आएका टिपर तोडफोड गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार तोडफोडबाट प्रदेश ३–००१ क ००९०, प्रदेश ३–००१ क ००९१ र प्रदेश ३–००१ क ०२९० नम्बरको टिपरमा क्षति पुगेको छ ।
मिक्लालुङ गाउँपालिका–९ मा साँझ ५:३० बजेतिर तोडफोड गरिएका टिपरको अगाडिका सिसा फुटेका छन् । मोतीदान कन्सट्रक्सन सेवा प्रा.लिका तीनवटै टिपर मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग गरिएका थिए ।
सबै टिपर मिक्लाजुङ–९ का २६ वर्षीय धुम्बे भनिने शिवराज मगरले एक्लै तोडफोड गरेको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार मगरले सडकमा गुडिरहेका टिपरलाई बाटो छेकेर पालैपालो ढुंगाले प्रहार गरेर क्षति पुर्याएका हुन् । घटनापछि मगर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपर तोडफोड गरिनुको कारण खुलेको छैन । मगरले घटनाका बेला मादक पदार्थ सेवन (मापसे) गरेको हुनसक्ने आशंका प्रहरीको छ । उनले मदिराको नसामा ढुंगा प्रहार गर्दै सबै टिपरका अगाडिको सिसा फुटाइदिएको प्रहरीको भनाइ छ ।
सडक निर्माणमा आवश्यक परेको निर्माण सामग्री लिनलाई जाँदै गरेका बेला टिपरलाई बाटोमै रोकेर तोडफोड गरिएको कन्सट्रक्सनका डाइरेक्टर विकास गौतमले बताए ।
उनका अनुसार ढुंगाले हानिए पनि गुडिरहेको टिपरभित्र रहेका चालक भने सकुशल छन् । गौतमले घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रहरीमा उजुरी दिइसकिएको बताए । तोडफोडबाट क्षति पुगेका तीनवटै टिपर इलाका प्रहरी कार्यालय मधुमल्लामा राखिएको छ ।







