१८ पुष , काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवा बढुवा लगायत सेवा सुविधाका लागि संगठनमा एउटा प्रणाली विकसित गरिएको र हरेक प्रहरी कर्मचारीलाई नियम कानुन बमोजिम न्याय दिने संगठनको ध्येय रहेको बताएका छन् ।

हालै पदोन्नति भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षक(डिआइजी)लाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल सरकार गृह मन्त्रालय ९मन्त्रीस्तर०को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा। सञ्जय बिक्रम श्रेष्ठ र डा। गोपेश कुमार ठाकुरलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बिरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवं देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुनुपर्ने बताए ।

पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र सेवाग्राहीले पाउने उपचार पद्धतीलाई अझै उत्कृष्ट बनाउन आ–आफ्नो तर्फबाट पहल गर्न उनले निर्देशन दिएका छन् । प्रहरी अस्पतालको सेवा तथा चिकित्सकको व्यवहारलाई स्मरणयोग्य बनाउनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्दै पदोन्नती भएका प्रहरी अधिकृतहरूको व्यावसायिक सफलताको कामना गरेका छन् ।