०७ फाल्गुन , काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-३ स्थित बुढानिलकण्ठ माध्यमिक विद्यालयका सुरक्षागार्ड रेशमबहादुर नेपालीलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ-५ मा डेरा गरी बस्ने १९ वर्षीय निमा लामा छन्। मकवानपुर सिक्रेनी गाउँपालिका-१२ स्थायी घर भएका लामालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार लामालाई बिहीबार नै पक्राउ गरिएको हो। लामालाई हतियारसहित पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत कारबाही अगाडि बढाइएको बताए ।
एसपी मैनालीका अनुसार बिहीबार बिहान सवा ९ बजे विद्यालयको मुख्य प्रवेशद्वारमा नेपालीमाथि लामाले आक्रमण गरेका थिए। विद्यालय हातामा अमर्यादित गतिविधि भइरहेको थाहा पाएर सम्झाइबुझाइ गर्न गएका सुरक्षागार्ड नेपालीलाई लामाले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट नेपालीको दाहिने खुट्टाको तिघ्रा, पेट तथा ढाडमा चोट लागेको थियो ।





