
३ माघ , काठमाण्डौँ । विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९.९१ लाख संक्रमित निको भएका छन् भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २.८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २.७८ लाख मामिला सहित फ्रान्स दोस्रो स्थानमा र २.५७ लाख नयाँ संक्रमित सहित भारत तेस्रो स्थानमा छ ।
हिजो अमेरिकामा मात्रै ३४६ नयाँ मृत्यु भएको छ । सक्रिय संक्रमितको मामिलामा अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पुरै विश्वमा ५.५७ करोड सक्रिय संक्रमित रहेका छन् । यसमा अमेरिकामा मात्रै २.३० करोड छन् । पुरै विश्वमा हालसम्म करिब ३२.८७ करोड भन्दा बढी मानिस यस महामारीको चपेटामा आइसकेका छन् । यसमा २६.७४ करोड ठीक भइसकेका छन् । ५५.५७ लाखले ज्यान गुमाइसकेका छन् ।
सिन्ध प्रान्तमा मास्क नलगाएमा तलब कटौती

पाकिस्तानको सिन्ध प्रान्तमा मास्क नलगाउने सरकारी कर्मचारीका एक दिनको तलब कटौती गरिने भएको छ । प्रान्तमा कोभिड–१९ को बढ्दो मामिलालाई मध्यनजर गर्दै यो निर्देशिका जारी गरिएको हो । यहाँ कोरोना पोजिटिभ दर ३५ प्रतिशतमा पुुगेको छ । मुख्यमन्त्री मुुराद अली शाहको अध्यक्षतामा सीएम हाउसमा कोरोना टास्क फोर्सको बैठक भएको थियो । जसमा शाहले भनेको छन्,‘जुन अधिकारीले मास्क लगाउँदैनन्, उनीहरुले जरिवाना तिर्नुपर्ने छ ।’








