
६ माघ , काठमाडौँ । जिल्लाको शान्ति सुरक्षामा उत्कृष्ट काम गरेको भन्दै दोलखाका प्रहरी प्रमुख डिएसपि भेषराज रिजाललाइ दोलखाली नागरिकले अभिनन्दन गरेका छन् ।
सहकारी चोरीमा संलग्नलाइ कार्वाही, सुरक्षामा खटिएका गार्डको हत्या जस्ता घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न सफल भएको भन्दै रिजाललाइ अभिनन्दन गरिएको थियो । गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाको भेषराज रिजालको नेतृत्वको टोली र केन्द्रीय अनुुसन्धान ब्यरोले सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको थियो । लामो समयको अनुसन्धानपछि गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई पक्राउ गरेको थियो । सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको अनुसन्धानबाट जानकारी पाएको थियो ।
हत्यारा पक्राउ गरेपछि खुशी भएका नागरिकले सदरमुकाम चरिकोटमा रिजाललाई अभिनन्दन गरेको हिमचुली सहकारीका अध्यक्ष प्रकाश बहादुर खड्काले बताए । प्रहरी नायब उपरीक्षक रिजालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले ४१ वटा आधारभुत तालिम ,५३ वटा सडक सुरक्षा जनचेतना कार्यक्रम ,४७ वटा महिला तथा बालबालिका हिंसा न्युनिकरण सचेतना मुलक कार्यक्रम ,५छ वटा लागू औषध नियन्त्रण कार्यक्रम ,२९ वटा बिपद ब्यवस्थापन ,५ वटा एकीकृत घुम्तीमा सिविर ,२३ वटा कोडभड सम्बन्धि कार्यक्रम ,मानव बेचबिखन सम्बन्धि ७ र बालबिवाह न्युनिकरण सम्बन्धि २७ वटा एब बर्षे अवधिमा सम्पन्न गरेको प्रहरी निरिक्षक दिवस बस्नेतले जानकारी दिए ।
त्यसो त रिजालले दोलखाली नागरिकको जीवन रक्षाको लागि जिल्लामै पहिलोपटक तपाईंको मास्क खै भन्ने अभियान संचालन गरि महत्त्वपूर्ण कदमको सुरूवात गरेका थिए ।






