
११ माघ , काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको आर्थिक वर्ष २०७८ र ०७९ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङकले देखाएको चर्चा गरेका छन् । उनले सवारी दुर्घटना, लैंगिक हिंसाका घटनाहरुको न्यूनीकरण तथा अनुसन्धान एवम् हिरासत व्यवस्थापनमा अझ संवेदनशील तथा गम्भीरताका साथ परिचालन हुनुपर्नेमा जोड दिएका छन् ।
नागरिक सेवा एवम् मुलुकमा शान्ति सुव्यवस्था कायम गर्दै वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न उनले उपस्थित सबै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । उनले कोभिड–१९ महामारीको समयमा समेत प्रहरी कर्मचारी विचलित नभई कार्य सम्पादन गर्न पनि निर्देशन दिएका छन् ।
उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले भर्चुअल रुपमा उपस्थित भई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधारका कार्य भएको बताएका छन् । उनीहरुले प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास भएको पनि जानकारी दिएका छन् । उनीहरुले ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापनमा भएका उपलब्धिका विषयमा पनि चर्चा गरेका थिए ।
त्यस्तै, मानवस्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण बारे उनीहरुले बताएका छन् । साथै उनीहरुले मानवअधिकार संरक्षण र सम्वद्र्धन सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वयमा प्रभावकारिता विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गरेका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।




