
१४ माघ, काठमाडौ । मन्त्रिपरिषद्ले २०७६ मंसिर ३० मा नेपालकै पहिलो प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि काभ्रेको बनेपा नगरपालिकास्थित पेरुङ्गे सामुदायिक वन क्षेत्रको ७ सय ५० रोपनी जग्गा नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरेको थियो । विश्वविद्यालयको संरचना निर्माण ५ वर्षमा सक्ने लक्ष्य राखिएको थियो ।
रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको सहकार्यमा निर्माण कार्यको योजना तर्जुमा भइरहेको समितिले जनाएको छ । मन्त्रिपरिषद्ले दुई वर्षअघि नै अवकाश प्राप्त रथी बालानन्द शर्माको अध्यक्षतामा तीन सदस्यीय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो । समितिका सदस्यमा प्राध्यापक युवराज संग्रौला र कूटनीतिज्ञ शम्भुराम सिम्खडा छन् । उक्त समितिको सम्पूर्ण जिम्मेवारी पूर्वाधार निर्माण गर्नु हो । ‘हाम्रोतर्फबाट काम ठीकै भइरहेको छ । तर बजेट छुट्याउन बाँकी छ । समयमै बजेट आए काम गर्न सहज हुन्छ,’ समितिका सदस्य सिम्खडाले भने ।
चालु आर्थिक वर्षमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी प्रारम्भिक कार्यका लागि भनेर ५८ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । आर्थिक वर्ष २०७७–७८ मा विश्वविद्यालय निर्माणका लागि सरकारले २० करोड ३४ लाख र चालुतर्फ ९४ लाख रुपैयाँ विनियोजन गरेको थियो । समितिले विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर त्यसलाई बहुवर्षीय ठेक्कामा कार्यान्वयन गर्न रक्षा मन्त्रालयमा आवश्यक रकम माग गरेको छ ।
समितिले निर्माण समितिले रक्षा मन्त्रालयमार्फत बहुवर्षीय आयोजना स्वीकृति, बजेटको सुनिश्चितता, भौतिक संरचना निर्माण तथा लिंक रोड स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा तीन अर्ब ६२ करोड २४ लाख विनियोजन गर्न माग गरेको हो । साँगा भन्ज्याङदेखि कांक्राबारी हुँदै पनौती पेरुङ्गेडाँडास्थित विश्वविद्यालय स्थलसम्मको लिंक रोड स्तरोन्नति गर्ने योजना छ ।





