१९ माघ , काठमाडौं । ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै गाउँपालिका निमित्तको भरमा छ ।
मिक्खोला गाउँपालिकाका पनि स्वास्थ्य शाखा प्रमुख ललित नारायण यादवको भरमा छ । उनले निमित्तको जिम्मेवारी सम्हालेको दुई महिना भयो । भट्टराई र यादव मात्र होइन ताप्लेजुङमा नौ स्थानीय तहमध्ये ६ मा निमित्त प्रमुख प्रशासकीय छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै नयाँ नपठाउँ समस्या भएको हो ।
मेरिङदेन गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीयविहीन छ । पाभीभरा याङवरक र सिदिङवा गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीयविहीन छ । गत साता प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै सिरिजंगा गाउँपालिका पनि निमित्तको भरमा छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाजमा समस्या हुने गरेको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । स्थानीय तहमा नीति नियम र कानुन निर्माण गर्न समस्या हुने गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए । उनले भने, ‘अहिले स्वास्थ्य शाखा प्रमुखलाई निमित्त दिएका छौं । स्वास्थ्य शाखा प्रमुखसँग स्वास्थ्य सम्बन्धि ज्ञान छ । तर, प्रशासन सम्बन्धि प्रर्याप्त ज्ञान छैन । त्यसैले गाउँपालिकाको प्रशानमा समस्या हुने गरेको छ ।’योजना तर्जुमामा पनि समस्या हुने गरेको छ ।


