वीरगञ्ज- पर्सा प्रहरीले जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृतलाई गोली हानी हत्या गरेर फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ बस्ने प्रेम गिरी रहेका छन्। उनलाई सोही स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका गिरीमाथि आधा दर्जन मुद्दा छन्। उनले २०६५ साल असोज २२ गते जिल्ला प्रशासन कार्यालयमा कार्यरत मोहन प्रसाद मैनालीलाई गोली प्रहार गरी हत्या गरेको पर्सा प्रहरीले जनाएको छ।

यस्तै, उनले २०५७ साल भदौ १२ गते राती हाल पर्सा विन्दवासिनी गाउँ पालिका बस्ने वर्ष ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी यादवको मृत्यु भएको ‘खुन डाँका’ मुद्दामा फरार रहँदै आएका थिए।

त्यसैगरी, २०६६ साल फागुन १९ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको, २०६० असार ३ गतेको पूनरावेदन अदालत हेटौँडाको फैसलानुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको ,२०५६ जेठ ४ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रही फरार रहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।