२३ माघ, काठमाडौं । विवाह सकेर घर नजिकै आएको जीप दुर्घटनामा गम्भीर घाइते भएकी बेहुलीको रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा दाहिने हात काटेर थप उपचार प्रकृया अगाडि बढाइएको छ । प्युठानमा शनिबार बिहानै भएको जिप दुर्घटनामा जन्ती गएका ८ जनाको मृत्यु भएको थियो भने बेहुलाबेहुलीलगायत घाइते भएका थिए । सो घटनामा दाइने हात थिचिएर क्षतविक्षत भएकाले १९ वर्षीय बेहुली रिमा जिसीको हात काट्नुपरेको हो ।
अहिले अन्य घाइतेको पनि त्यहीँ उपचार भइरहेको छ । अरुको अवस्था सामान्य रहेको जीसीले बताएका छन् । बिहान बेहुलीको हातमा बढी समस्या देखिएकाले उनलाई मात्रै छिटो रिफर गरिए पनि पछि बेहुलालाई ल्याइएको हो ।
जिसीले भने, ‘घाइते बेहुलीको दाहिने हात काटिएको छ अरु अवस्था सामान्य छ, बेहुला र लोकन्तीको अवस्था पनि खतरामुक्त छ सबै बोल्न सक्ने हुनुहुन्छ उहाँहरु ३ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । दुलाहाका भाइ नरेश खड्काको लुम्बिनी सिटी अस्पताल बुटवलमा टाउकोको अप्रेशन भएको छ भने गाडी चालकको छोरीको मर्सी सिटी अस्पताल बुटवलमा खुट्टाको अप्रेशन भएको छ ।’
विवाह सकेर घरतिर आएको जीप शनिबार सवेरै गौमुखी गाउँपालिका–६, लिवाङ ओखरपाटामा दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा प्यूठान गौमुखी–६ लिवाङ बस्ने ४० वर्षीया वसन्त खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी छन् ।
स्थानीय ३९ वर्षीय वसन्त खड्का र उनकी छोरी वर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको थियो । जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो ।
१३ जना सवार रहेको सो जीपमा ८ जनाको मृत्यु भएको र ५ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।


