२७ माघ , काठमाडौं । नेकपा एमालेभित्र एमसीसी विरोधी सांसदहरुले शक्ति सञ्चय गर्न थालेका छन् । सत्ता गठबन्धन टुट्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन सकिने परिस्थिति निर्माण भएमा एमसीसी पारित गर्न तयार हुने गरी एमाले अगाडि बढिरहँदा यस्तो गतिविधिले गति लिएको हो ।
एमालेले एमसीसी पारित गर्न सभामुखलाई हटाउनुपर्ने शर्त प्रधानमन्त्री शेरबहादुर देउवालाई राखेको छ । देउवा विकल्पसहित एमालेसँग भद्र सहमति गरेर बढिरहेका छन् । एमसीसी सभामुख अग्निप्रसाद सापकोटाले टेबुल नगर्ने अवस्था बनिसकेको छ ।
संसदको गणित
सभामुख हटाउने प्रस्ताव ल्याउन एकजना सांसदले एक चौथाई सांसदको समर्थनसहित प्रतिनिधि सभामा दर्ता गर्नुपर्ने प्रावधान छ । तर, पारित गर्न दुई तिहाई चाहिन्छ । संसदमा हाल २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ लाई मताधिकार छ । संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ । नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् ।
एमाले र काँग्रेस मिल्दा १५८ सांसद संख्या हुन्छ । थप १९ सांसदका लागि जसपाको जोड्दा पनि १ सांसद अपुग हुन्छ । लोसपाको मात्र समर्थन मात्र प्राप्त भएमा ६ सांसद अपुग हुन्छ । जसपाको अधिकांश सांसद एमसीसीको पक्षमा उभिने अवस्था बनेकाले सभामुखविरुद्ध हटाउने प्रस्ताव आएमा जसपाको बहुमत सांसद पक्षमा जानसक्छन् । तर, एमालेबाट डा.भीम रावललगायतका एमसीसी विरोधी नेताहरुले विद्रोह गर्न सक्छन् । रावलले १३ सांसद एमसीसीविरुद्ध जुटाउन सके माहोल नै फरक हुनसक्छ । यसले एमसीसी नै विफल गर्ने गरी सभामुखविरुद्ध हटाउने प्रस्ताव असफल हुन्छ ।
संसदमा बहाल सांसद संख्या
नेकपा एमाले ९७
नेपाली काँग्रेस ६३ (२ निलम्बित)
नेकपा माओवादी केन्द्र ४८ (१ सभामुख)
नेकपा एस २३
जसपा १९ ९१ निलम्बित०
लोसपा १३
राजमो १
नेमकिपा १
राप्रपा १
स्वतन्त्र १
कुल सांसद २६८ मा ३ निलम्बित भएकाले २६५ को गणना
दुई तिहाई पुग्न १७७





