२७ माघ, काठमाडौं । प्रहरीले नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट करिब ५२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-४ बस्ने अछाम तुर्माखाद गाउँपालिका-७ घर भएका र अछाम पंचदेवल बिनायक नगरपालिका-४ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित केरावारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय मिकेनजी लिम्बुलाई बुधबार साँझपक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक लिम्बुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ मंगलगडी चोकबाट करिब १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २५ वर्षीय अजय सिंह चौधरी र २६ वर्षीय राजु गायन रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


