२७ माघ, काठमाडौं । भर्खरै मात्र राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतमा सिफारिस भएका ४ सय ८८ जनाको आधारभूत तालिम फागुन २ गतेदेखि सञ्चालन हुने भएको छ । उक्त आधारभूत तालिममा सहभागि गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई परिपत्र गरेको छ ।
मन्त्रालयले प्रतिष्ठानलाई ४ सय ८८ जना कर्मचारीको सूचीसहित फागुन २ गतेदेखि आधारभूत प्रशासनिक प्रशिक्षण सञ्चालनको व्यवस्था मिलाउनका लागि परिपत्र गरेको हो । जसमा लोक सेवा आयोगको सिफारिस बमोजिम खुला प्रतियोगितबाट नियुक्त भएका नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल लेखापरीक्षण सेवा र नेपाल व्यवस्थापिका संसद सेवाका राजपत्रांकित तृतिय श्रेणीका नवनियुक्त ४ सय ८८ जना कर्मचारी रहेको छन् ।
उनीहरुलाई प्रशिक्षणमा सहभागि गराइदिनका लागि मन्त्रालयले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय र महालेखा परीक्षकको कार्याललाई परिपत्रमार्फत आग्रह गरेको हो ।







