Comments Add Comment

Advertisment

SKIP THIS

भासिएको पुल पुनःनिर्माण गरिएन

०२ फाल्गुन , काठमाडौं । निर्माण नसकिँदै भासिएको कमला नदीको पुल लामो समयसम्म पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । तराई–मधेशको लाईफ लाइनकैरुपमा रहेको हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै गत असार ३१ गते आएको बाढीले भासिएको थियो ।

भासिएको पुल पुनःनिर्माण नहुँदा निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन् । ‘ठेकेदार कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनःनिर्माण काम अझै सुरु हुनसकेको छैन्’, धनुषाको कमला नगरपालिका–५ का सत्रुधन साहले भने, ‘पुलको पुनः निर्माणको काम हुन नसक्दा चारपाङग्रे गाडी सो मार्गमा चल्नै सकेका छैनन्, दुईपाङ्ग्रे सवारी पनि जोखिमपूर्ण रुपमा चलिरहेका छन् ।’

सुख्खायाममा जेनतेन दुईपाङ्ग्रे सवारी साधन चल्ने गरे पनि हल्का वर्षामा पनि पैदलयात्रुलाई समेत हिँड्डुल गर्न समस्या भइरहेको उनको भनाइ छ । बाढीका कारण पहिला पूर्वतर्फको स्पर भासिएको थियो । त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो । ‘भासिएकामध्ये पुर्वतर्फको स्पर कामै नलाग्ने अवस्था छ’, सिरहा नगरपालिका– ११ का कमलेश यादवले भने, ‘जसका कारण मोटरसाइकललाई समेत पुलबाट वारपार गर्न ठूलै समस्या भइरहेको छ ।’ सर्वसाधारणले ठूलै सास्ती भोग्दै आए पनि भासिएको पुल पुनःनिर्माणमा ठेकेदार कम्पनीले ध्यान नदिएको उनको गुनासो छ ।

कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरूमा पप्पुले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकाएको पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिक्दा लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो । पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो । हस्तान्तर नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन् ।

हुलाकी सडकअन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण कार्य सुरु भएको एक वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै