७ फागुन, काठमाडौं । दाजुबहिनीलाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-५ का ३५ वर्षीय खेमबहादुर पौडेल पक्राउ परेको हो ।
खेमबहादुरलाई प्रहरीले झापा अनारमनी विर्तामोडबाट पक्राउ गरी बालबालिकालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। सैनामैना-६ दुधराक्षस्थित घरबाट सैनामैना-४ बुद्धनगरको प्रभात बोर्डिङ स्कुल गएका १२ वर्षीय प्रसिद्ध दाहाल र उनकी ९ वर्षीया प्रशन्न दाहाल फागुन ५ गतेदेखि हराइरहेका थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले शनिबार पत्रकार सम्मेलन गरी पौडेललाई सार्वजनिक गरेको हो। रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीका अनुसार लु १ ख ६५६८ नम्बरको बसमा चढेर गएका उनीहरू साँझ घर नपुगेपछि अभिभावक स्कुलमा पुगेका थिए।

बसका स्टाफले दुबै बालबालिकालाई फोटो खिच्न भनी अभिभावकले बसबाट उतारेर लगेको बताएका थिए। अन्य विद्यार्थीले पौडेलले लिएर गएको बताएपछि प्रहरी उनको पछि लागेको थियो,’ केसीले भने। इलाका प्रहरी कार्यालय रन्यौरामा घटनाबारे अभिभावकले जानकारी दिएपछि प्रहरी परिचालन भएको थियो। एसपी केसीका अनुसार पौडेलले प्रयोग गर्दै आएको मोबाइल नम्बर त्यसदिन बुटवलबाट स्वीचअफ भएको देखिएको थियो।
केसीका अनुसार त्यसदिन बालबालिकालाई लिएर पौडेल बुटवलबाट विर्तामोड छुट्ने बस काउन्टरमा पुगेका थिए। टिकट काटेर उनी विर्तामोड पुगेका थिए। त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बुटवलबाट आउने गाडीको निगरानी गरेको थियो। पौडेललाई बालबालिकासहित बसपार्कमा फेला पारिएको थियो। पौडेललाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान सुरू गरिएको प्रहरी उपरीक्षक केसीले बताए।
केसीका अनुसार पौडेल बालबालिकाका फुपाजू हुन्। उनीहरूको पारिवारिक दुश्मनी थियो। केही दिनअघि पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई सार्वजनिक अपराधमा मुद्दा चलाइएको छ। छुटेपछि माइती पक्षसँग मिलेर आफूलाई थुनाएको भन्दै पौडेलले बदला लिने योजनाका साथ बालबालिकाको अपहरण गरेको खुलेको छ ।







