Comments Add Comment

Advertisment

SKIP THIS

उजुरी परेपछि रोकिएको योजना सञ्चालनको माग

११ फागुन , काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका स्थानीयले नियमक निकायमा उजुरीका कारण रोकिएका योजना सुचारु गर्न माग गरेका छन् । वडामा सञ्चालित विभिन्न योजनामा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र अख्तियारमा सत्तारुढ गठबन्धन दलको उजुरी परेपछि रोकिएको योजना सञ्चालनको माग गरेका हुन् ।

एमालेबाट निर्वाचित वडाध्यक्ष लिलाकुमार चौहान नेतृत्वको टोलीले मंगलबार नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाउँदै अवरुद्ध योजना सुचारु गर्नरगराउन माग राखेका छन् ।

सडक ढलान, एकीकृत वस्ती विस्तार, विद्यालय खेलमैदान र घेराबारा लगायतका योजना मापदण्ड विपरित सञ्चालन गर्दै अनियमितता तथा भ्रष्टाचार गरिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले गत १७ माघमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएका थिए । त्यसकै प्रतिकार स्वरुप वडाध्यक्ष चौहान समर्थक सहित शक्ती प्रदर्शनमा उत्रिएका हुन् ।

गलत कागजात तयार गरी जनप्रतिनिधि विरुद्ध विभिन्न निकायमा उजुरी हाल्ने र अलोकतान्त्रिक ढंगले विकास निर्माण कार्यलाई अवरोध पुर्‍याएर वडावासीको अधिकार कुण्ठित पार्ने गैरराजनैतिक हर्कत गरेकामा आवाज उठाउनु परेको स्थानीय दानबहादुर चौहानले बताए । ‘वडालाई अस्थिर बनाउन चाहने, विकास विरोधी, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र आफ्नो स्वार्थको लागि वडामा भएको विकास रोक्न चाहने केही व्यक्तिले अवरोध गरेको हो,’ उनले भने, ‘उक्त अवरुद्ध विकास निर्माण कार्य तत्काल सञ्चालन गर्न आवश्यक छ । दुई महिनादेखि रोकिएको निर्माण कार्यलाई सम्वन्धित निकायले अहिलेसम्म निकास नदिइ मौनता साँधेकोप्रति हाम्रो आपत्ति छ ।’

मध्यपहाडी लोकमार्गदेखि वडाकार्यालयसम्मको सडक ढलान, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा निर्माण, सिस्ने हर्कटे सामुदायिक वनमा ढुंगा उत्खनन, खावाडाँडा एकीकृत वस्ती र वाबारी नमूना बस्ती विस्तारका क्रममा अनियमितता र भ्रष्टाचार भएको सत्तारुढ गठबन्धन दलको दावी छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडामा अन्य दलको गठबन्धन हुँदा चौहान एमालेकातर्फबाट निर्वाचित भएका थिए । आफ्नो विकास र लोकप्रियता देखेर त्रसित भएका गठबन्धनले उजुरी हालेर अवरोध सिर्जना गरेको वडाध्यक्ष चौहानले बताए । वडामा पार्टीगत रुपमा भएको द्धन्द्धले सर्वसाधारण भने निरास छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै