११ फागुन, काठमाण्डौं । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसविरुद्ध अमेरिकी प्रतिबन्धको प्रशंसा गर्दै यसलाई पहिलो महत्वपूर्ण र मजबुत कदम बताएका छन् ।
मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बैठकपछि फक्स न्यूजलाई दिएको एक साक्षात्कारमा कुलेबाले अमेरिकाले थप हतियार सहयोग गर्ने प्रतिबद्धता गरेको बताएका हुन् । यद्यपि, युक्रेनले आफ्नो भूमिमा अमेरिकी सैनिक पठाउने र स्थितिलाई नियन्त्रित गर्ने माग नगरेको उनले बताए ।
यसैगरी, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका विदेश मन्त्री दिमित्री कुलेबासँग भेटघाट गरेर युक्रेनको सम्प्रभुता र अखण्डताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए ।
ह्वाइट हाउसले भनेको छ, ‘राष्ट्रपति बाइडेनले कुलेबालाई रुसी राष्ट्रपतिले युक्रेनका स्वतन्त्र राष्ट्र घोषण गरेका क्षेत्रहरु लुहान्स्क र दोनेत्स्कलाई मान्यता दिने फैसलामा आफ्नो निर्णयबाट अवगत गराएका छन् । यी दुई क्षेत्रहरुमा शान्ति कायम राख्न रुसी सेना पठाउने आदेश पुटिनले दिएका छन् । यसमा नयाँ प्रतिबन्धको घोषणा गरिएको छ र अमेरिकाले युक्रेनको सुरक्षा सहायता र आर्थिक सहयोग पठाउन जारी राख्ने बाइडेनले बताएका छन् ।
बाइडेनले युक्रेनको बिरुद्धमा रुसको आक्रमणको स्थितिमा आफ्ना सहयोगीसँग मिलेर उसलाई जवाफ दिनका लागि अमेरिका तत्पर रहेको पनि दोहोर्याए । दिमित्री कुलेबाले अमेरिकी रक्षामन्त्री लायड अस्टिनसँग पनि भेटघाट गरेका छन् ।
पेन्टागनमा युक्रेनी विदेश मन्त्री दिमित्री केलेबासँगको बैठक भन्दा अगाडि अस्टिनले भने,‘अमेरिका आफ्ना सहयोगीसँग संघर्षबाट बच्ने उपाय खोज्ने कोशिश गरिरहेको छ ।’
युक्रेनमा हुने हमलाले त्यहाँ शान्ति, सुरक्षा, समृद्धि र पुरै एटलान्टिक समुदायलाई खतरा हुन सक्ने उनले बताए ।






