१३ फागुन , काठमाडौं । एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीलाई प्रहरीले नै रगत दिएको छ ।
शल्यक्रियाका लागि अवस्थीलाई तीन पाउन्ड ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको थियो । जसमध्ये एक पाउन्ड रगत प्रहरीजवान समीनाथ यादवले दिएका हुन् । उनी प्रहरीको एक नम्बर गण नक्सालमा कार्यरत छन् । राति ९ बजे प्रहरी जवान यादवले रगत दिएका थिए ।
डडेलधुराको नवदुर्गा गाउँपालिका घर भई ललितपुरस्थित टीकाथली बस्दै आएका हेमराज बानेश्वरको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीलाई हानेको ढुंगाले उनलाई लागेर घाइते भएका थिए । नेपाल प्रहरीकै सहयोगमा उनलाई एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टर हुँदै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएका अवस्थीको टाउकोको दुईवटा अपरेशन गरिएको अस्पतालले जनाएको छ ।
३० वर्षीय हेमराज अवस्थीको उपचारमा आवश्यक ‘ओ नेगेटिभ’ रगत प्रहरी गण नं. १ नक्साल, काठमाण्डौमा कार्यरत बर्ष २३ को प्रहरी जवान सामिनाथ यादवले रक्तदान समेत गरी उपचार भई रहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश राज मैनालीले बताए ।
घाइतेको स्वास्थ्यमा सुधार आएको र अहिले भेन्टिलेटरबाट निकालेर आईसीयूमा उपचार भइरहेको अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टीच्युट एण्ड एलाईड साइन्सले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।