१४ फागुन, काठमाडौं । नेकपा एमाले र कांग्रेसका नेताहरूबीचको वार्ता सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुई पार्टीका शीर्ष तहका नेताहरूबीच छलफल भएको थियो । आजको संवादमा पनि दुई पार्टी निष्कर्षमा पुग्न नसकेको कांग्रेसका नेता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘नयाँ खबर सुनाउँला भन्ने आशा थियो तर, कुरा पुरानै अवस्थामा छ । हामीले प्रतिनिधि सभा सुचारु गरौं, एमसीसी अनुमोदनको दिशामा लैजाऔं भन्ने प्रस्ताव गर्यौं,’ कार्कीले भने, ‘उहाँहरूले हाम्रा लागि संसदको द्वार बन्द भएको छ । त्यो खुलाउने जिम्मेवारी सरकारको भएको बताउनुभयो ।’ छलफलमा कांग्रेस नेताहरूले संसद जीवन्त बनाउने जिम्मेवारी प्रमुख प्रतिपक्षको पनि भएको भनेको कार्कीले बताए ।
‘संसद खुलाउने तपाईंहरूको पनि दायित्व हो, परिस्थितिको मूल्यांकन गरेर अघि बढौँ भनेका छौं,’ कार्कीले भने । दुई पार्टीका नेताहरूले छलफल गरेर सहमति बन्ने अवस्थामा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको भेट हुने तय भएको थियो । तर, लामो समय छलफलमा बसेका दुई दलका नेताहरूबीच निष्कर्ष निस्कन नसक्दा प्रधानमन्त्री देउवा बालकोट गएनन् ।
कांग्रेस र एमालेबीच संवादलाई निरन्तरता दिने सहमति भने भएको कार्कीले बताए ।






