१ पुष , काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा खाद्य गोदाममा छापा मारेको छ । छापा मार्नेक्रममा भन्सार छलीका करिब ३५ लाख बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै बिहीबार शंकास्पद गोदाममा छापा मारेको हो । यही २७ मंसिरमा प्रहरी महानिरीक्षकद्वयको निर्देशन पछि छापा मारिएको यो पहिलोपटक हो ।
प्रहरीले विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्तालगायतका व्यापारीको गोदाममा छापा मारेको थियो । ती गोदामबाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका सामग्री बरामद गरिएको छ ।
बरामद गरिएका सामानको मूल्य अन्दाजी ३५ लाख रुपैयाँ कायम गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अन्ुसार सञ्चालकले सामानको बिल विजकहरु देखाउन नसकेपछि सामान बरामद गरिएको हो ।





