१६ फागुन, काठमाण्डौं । बन्दकर्ताले आज बिहान सुकेधारामा दुध बोकेको ट्यांकर तोडफोड गरेपछि डेरी एसोसिएसनले विरोध गरेको छ । एसोसिएसनले विज्ञप्ति निकाल्दै दुध ढुवानी गर्ने गाडी तोडफोड भएकोमा विरोध जनाएको हो ।
दुग्ध क्षेत्र अति आवश्यक बस्तुको सूचिमा रहेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भैरहेको थियो,’ एसोसिएशनका महासचिव प्रह्लाद दाहालले भने, ‘यसपटक गाडी तोडफोड एवम् ढुवानीमा समेत अवरोध सृजना भएकोमा नेपाल डेरी एसोसिएसन अत्यन्तै दुखित भएको छ ।’
राज्यले उच्च महत्वका साथ दुध तथा दुग्धजन्य पदार्थ ढुवानीलाई एम्बुलेन्ससरह मान्यता हुने व्यवस्था गरेको छ । कोभिड महामारी तथा भूकम्प तथा सबै राजनीतिक दलका बन्दरहडतालमा समेत निर्वाध र बिना रोकतोक दुध तथा दुग्धजन्य पदार्थ ढुवानी हुँदै आएको थियो । तर, यसपटक एमसीसी पारित भएको विरोधमा गरिएको हड्तालमा दुधको ट्यांकर तोडफोड गरिनु दुःखद भएको एसोसिएसनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
एसोसिएसनले राज्यले नीतिनियम बनाउने, तर सोअनुसार व्यवहार नगर्दा समस्या पर्न गएको बताइएको छ । दुध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने कुराको महत्व सरकारले बुझ्नुपर्ने एसोसिएसनको माग छ ।



