
२६ कात्तिक,काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लाको नेतृत्व चयन सकेको छ ।

भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभाग सदस्य जनकराज पाठकले जानकारी दिए ।

राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोमा भक्तपुरमा भने कमल थापा र पशुपति शमशेर राणा–डा प्रकाशचन्द्र लोहनी पक्षबीच भागबण्डा मिल्न नसक्दा तनावको अवस्था सिर्जना भएको हो ।
भक्तपुरमा वडा तहको अधिवेशन भएपनि क्षेत्र र जिल्लामा अधिवेशन हुन नसकेको राप्रपाले जनाएको छ । पार्टी केन्द्रले दिएको समयसीमा अधिवेशन हुन नसकेपछि अब के हुने भन्नेमा अन्योलता कायमै रहेको छ । यसबारे केन्द्रीय अध्यक्षहरूबीच नै विवाद रहेकाले भक्तपुरको हकमा के हुने भन्नेबारे निर्णय हुन नसकेको एक नेताले जानकारी दिए ।




