१७ फागुन, काठमाण्डौं । दक्षिणी युक्रेनमा खेरसोनको क्षेत्रीय सेन्टरलाई रुसको सैनिकले घेरेका छन् । उक्त इलाकाबाट आइरहेका रिपोर्टमा यस्तो जानकारी दिइएको छ । यो इलाका रुसको नियन्त्रण भएको क्राइमिया नजिककै छ । प्रत्यक्षदर्शीका अनुसार मंगलबार बिहान यो शहरमा रुसी सैनिकले जमिनी कारवाही गरे ।
यो शहरका मेयर इगोर कोलिखायेवले फेसबुकमा लेखेका छन्, ‘रुसको सेना शहरमा प्रवेश गर्ने इलाकामा चेक पोइन्ट्स लगाइरहेका छन् । खेरसोना युक्रेनको साथमा छ र पछि पनि रहनेछ । ’
खेरसोनस्थित पत्रकार एलेना पनिनाले युक्रेनको सरकारी मिडिया युक्रेन २४ लाई यो शहर पूर्ण रुपमा घेरिइसकेको बताए ।
‘सबैतिर रुसका सैनिक र उपकरण देखिएका छन् । शहरबाहिर निस्कने बाटोमा उनीहरुले चेक पोइन्ट्स राखेका छन् । ’
उनका अनुसार हालसम्म शहरमा बिजुली र पानीको समस्या छैन । तर उनका अनुसार अबका दिनमा तीन लाखको जनसंख्या भएको यो शहरमा खाद्यान्न ल्याउन मुश्किल आउन सक्छ ।


