१९ फागुन , काठमाडौं । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोडको सुन्तला निकासी भएको छ । पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आवद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपाली प्रतिकिलो १४० का दरले चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिए ।
‘गत वर्षकोभन्दा २० देखि २५ प्रतिशतले उत्पादन बढ्यो’, उनले भने, ‘भाउ पनि राम्रो पाइयो ।’ उनका अनुसार बाँसखर्कमा बसोबास गर्ने २६१ मध्ये २०० घरले २५ हजार बोट सुन्तलाखेती गरेका छन् । सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेती विस्तारमा लागेका हुन् । एक कृषकले वर्षमा १५ लाखसम्मको सुन्तला बेचेर आम्दानी गर्छन् । मकै, कोदो खेती हुने पाखोबारी र खरबारीमा सुन्तलाखेती गरेका छन् । कृषक रुद्रबहादुर खत्रीले यसपाली आठ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको बताए ।
बेनी, कुश्मा, बागलुङ, पोखरा, काठमाडौं, चितवन, जनकपुर, वीरगञ्जलगायत सहरबाट बगैंचामा आएका व्यापारीले अग्रिम पैसा दिएर सुन्तला खरिद गरेका कृषक ख्यामबहादुर खत्रीले बताए । देशका अन्य ठाउँको सुन्तला बिक्री भइसकेपछि माघदेखि बाँसखर्कका सुन्तला बजार पठाउन थालिएको थियो । बगैंचा ब्यवस्थापन र झरेका दानाको सुरक्षित व्यवस्थापन गरेकाले यसपाली सुन्तलाको उत्पादन बढेको कृषक शिवबहादुर खत्रीले बताए ।
बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जङ्गल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायीकरण, सुन्तलामा लाग्ने रोग, किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायत कारणले सुन्तला उत्पादन बर्सेनी बढ्दै गएको छ । यहाँबाट विस्थापित पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका हुन् । सिँचाइ बाँसखर्कको सुन्तलाखेतीका लागि प्रमुख आवश्यकता देखिएको छ । बाँसखर्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिएको छ । तर, जोनबाट पकेटको जस्तो पनि सुविधा नपाएको कृषकले गुनासो गरेका छन् ।



